सुशीला कार्की मन्त्रिपरिषद् फेरि विस्तार, दुई नयाँ मन्त्रीले गरे शपथ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सुशीला कार्की मन्त्रिपरिषद् फेरि विस्तार, दुई नयाँ मन्त्रीले गरे शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा दुई नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । अब सरकार आधिकारिक रूपमा १० सदस्यीय बनेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजित समारोहमा डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई शपथ ग्रहण गराएका हुन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ।

आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई समेत मन्त्री बनाउने तयारी भए पनि उनीहरूबारे विवाद उत्पन्न भएपछि तत्कालका लागि शपथ रोकिएको थियो । प्रधानमन्त्री बनेको करिब एक महिना नपुग्दै कार्कीले यो तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।

उनी गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। त्यसभन्दा अघि भदौ ३० गते र असोज ६ गते उनले पहिलो र दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्।

पहिलो चरणमा रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङ मन्त्री बनेका थिए। दोस्रो चरणमा भने अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेल सरकारमा समावेश भएका थिए।