प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिन्
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार आफ्नो मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरेकी छन्। यसअघि भदौ ३० र असोज ६ गते मन्त्री नियुक्ति गरिसकेकी कार्कीले यसपटक चार नयाँ मन्त्रीलाई जिम्मेवारी दिएकी छन्।
भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो पटक मन्त्री नियुक्त गर्दा रामेश्वर खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास, र ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।
दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा अनिलकुमार सिन्हालाई कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, मदनप्रसाद परियारलाई कृषि तथा पशुपक्षी विकास, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि, र महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
आइतबारको तेस्रो विस्तारमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, खगेन्द्र सुनार र डा. सुधा शर्मा गौतमलाई मन्त्री नियुक्त गरिएको छ। यसपटक गुप्तालाई युवा तथा खेलकुद, सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, डा. शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या, र श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यससँगै मन्त्रीहरूको जिम्मेवारीमा केही महत्वपूर्ण परिवर्तन पनि भएको छ। कुलमान घिसिङ तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् भने अनिलकुमार सिन्हासँग दुई मन्त्रालय छन्। ओमप्रकाश अर्यालले गृह मन्त्रालयमा ध्यान केन्द्रित गर्ने भएका छन् र भूमि व्यवस्थामा गणपतिलाल श्रेष्ठ जिम्मेवार बनाइएका छन्।













