देश ‘ग्रान्ड डिजाइन’ अन्तर्गत कमजोर पारिँदैछ : दुर्गा प्रसाई
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईले नेपाललाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत सुनियोजित रूपमा कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्।
आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले आफ्नो अभियान देशलाई लुटतन्त्रबाट बचाउने उद्देश्यले सुरु गरिएको बताए। प्रसाईका अनुसार बैंक र वित्तीय संस्थाले चर्को ब्याजदर असुली जनतालाई ऋणको पासोमा पारेका छन्। उनले भने, “बैंकले कागजमा ७ प्रतिशत लेख्छन्, तर व्यवहारमा १६–१७ प्रतिशत असुल्छन्। म ब्याज नतिर्ने होइन, यो लुटतन्त्रको विरोध हो।” प्रसाईले आफ्नो आन्दोलनकै कारण ब्याजदर घटेर ६ प्रतिशतमा पुगेको दाबी पनि गरे।
आफू कालोसूचीमा नरहेको प्रमाण प्रस्तुत गर्दै प्रसाईले बीएन्डसी मेडिकल कलेज नियमित महसुल तिर्ने उत्कृष्ट उपभोक्ता भएको बताए। उनले केही व्यापारी समूहले राज्य प्रणाली कब्जा गर्न खोजेको आरोप लगाउँदै भने, “देशमा ४१ हजार मारवाडी परिवार छन्, तर म सबैको विरोधी होइन। बर्माबाट आएका केही परिवारले बर्मालाई जस्तै नेपाललाई पनि नाङ्गो बनाउँदैछन्।”
उनले राजसंस्था र हिन्दू राष्ट्रको अन्त्यलाई पनि ‘विदेशी ग्रान्ड डिजाइन’को हिस्सा भएको टिप्पणी गरे। सिंहदरबार र सर्वोच्च अदालतमा आगलागी हुनु व्यवस्था असफलताको संकेत भएको उनको भनाइ थियो। हालैको ‘जेनजी आन्दोलन’मा आफू सहभागी हुन खोज्दा रोकिनुका लागि काठमाडौँका मेयर बालेन शाहप्रति कृतज्ञता व्यक्त गर्दै उनले भने, “उहाँले मलाई थुनिनबाट जोगाउनुभयो।”













