आइसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल आज अमेरिकासँग आमनेसामने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक श्रृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय टिमले केही दिनअघि मात्रै युएई पुगेर तयारी पूरा गरेको हो। विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकासँगको खेलमार्फत् युएई श्रृङ्खलाको सुरुवात गर्न लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले यस श्रृङ्खलाका लागि टिममा केही परिवर्तन गरेको छ। सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई बाहिर राख्दै भीम सार्की, शाहब आलम र अनिल साहलाई टोलीमा समावेश गरिएको छ। नयाँ खेलाडीहरूको प्रदर्शनमा सबैको नजर रहनेछ।
नेपालले अमेरिकासँगको खेलपछि कात्तिक १३ गते बिहीबार युएईसँग दोस्रो खेल खेल्नेछ। तेस्रो खेल कात्तिक १५ गते शनिबार फेरि अमेरिकासँग हुनेछ भने अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग हुने तालिका छ।
विश्वकप लिग–२ मा नेपालले हालसम्म १२ खेलमा १६ अंक जोड्दै सातौँ स्थानमा रहेको छ। समान खेल खेलेको युएईको ६ अंकसहित आठौँ स्थान छ भने २० खेल खेलिसकेको अमेरिका २८ अंकका साथ दोस्रो स्थानमा छ।













