संसद् भवन निर्माणमा ढिलाइ, मन्त्री घिसिङको चेतावनी: पुस १६ भित्र काम नसके हर्जाना तिराउनुपर्छ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । संघीय संसद् भवनको निर्माणमा पुनः ढिलाइ भएपछि ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले ठेकेदार कम्पनीलाई कडा चेतावनी दिएका छन्।
शनिबार सिंहदरबार परिसरमा भवन निर्माण स्थल निरीक्षण गर्दै उनले अन्तिम पटक थप गरिएको म्यादभित्र काम पूरा नभए हर्जाना तिराइने बताएका हुन्।
२०७६ असोज १६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको संसद् भवनको काम अहिले पाँचौँ पटक म्याद थपिएर पुस १६ सम्म लम्बिएको छ। तर निर्माणको प्रगति सन्तोषजनक नभएपछि मन्त्री घिसिङले असन्तुष्टि जनाए।
“यो अन्तिम म्याद हो,” उनले भने, “अब कुनै बहानामा ढिलाइ स्वीकार्य छैन। समयमै काम सम्पन्न नगर्ने कम्पनीलाई कानूनी रूपमा हर्जाना तिराइनेछ।”
मन्त्री घिसिङले निर्माण तीव्रता दिन दैनिक कार्यतालिका बनाउन निर्देशन दिँदै दुई सिफ्टमा काम सञ्चालन गर्न सुझाव दिए। उनका अनुसार नयाँ संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, समितिहरू र संसदीय दलका कार्यालयसहित १२ वटा ब्लक निर्माण भइरहेका छन्।
सरकारले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अस्थायी रूपमा संसद् सञ्चालन गर्दै आएको छ। तर जेनजी आन्दोलनका क्रममा भएको आगजनीले पुरानो भवन ध्वस्त भएपछि सिंहदरबार परिसरमै नयाँ संरचना निर्माण थालिएको हो।













