देशभरको सुरक्षा अवस्था मूल्यांकनका लागि प्रधानमन्त्री निवासमा उच्चस्तरीय बैठक
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । मुलुकको पछिल्लो सुरक्षा अवस्थाको गम्भीर मूल्यांकनका लागि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
देशभर विभिन्न समूहहरूद्वारा भइरहेका राजनीतिक तयारी र प्रदर्शनका गतिविधिलाई मध्यनजर गर्दै सरकारले सतर्कता अपनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति थियो।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले पछिल्ला सुरक्षा चुनौतीहरू र सम्भावित जोखिम क्षेत्रबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए। बैठकपछि गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भने, “सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गरिएको छ। विभिन्न समूहहरूले प्रदर्शनको तयारी गरिरहेको सूचना प्राप्त भएकाले सबै निकाय तयारी अवस्थामा छन्।”
उनका अनुसार सरकार राजनीतिक मागहरूको सम्बोधनका लागि संवादको ढोका खुला राख्नेछ। उनले भने, “राजनीतिक असन्तुष्टि राख्न सबै स्वतन्त्र छन्, तर जिम्मेवार ढङ्गले प्रस्तुत हुन आवश्यक छ। सरकार संवाद र सहमतिका माध्यमबाटै समस्या समाधान गर्न चाहन्छ।”
बैठकले संवेदनशील क्षेत्रहरूमा निगरानी बढाउने, आवश्यक परे सुरक्षा बल परिचालन गर्ने र जनसुरक्षालाई सर्वोच्च प्राथमिकता दिने निर्णय गरेको बताइएको छ। सरकारले नागरिकलाई अफवाहमा नफस्न र देशको शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।













