महसुल विवाद चुलिँदा प्राधिकरणद्वारा थप १८ उद्योगको विद्युत् आपूर्ति बन्द
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । ट्रंक तथा डेडिकेटेड लाइनको महसुल विवाद समाधान नभएपछि नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको विद्युत् आपूर्ति काटेको छ। प्राधिकरणले शुक्रबार साँझदेखि ती उद्योगहरूमा बिजुली सेवा स्थगित गरेको हो।
प्राधिकरणका अनुसार, सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टबाहेक बाँकी सबै विवादित निजी उद्योगहरूको लाइन बन्द गरिएको छ।
यसअघि लक्ष्मीपूजाको भोलिपल्ट जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सलगायत ६ वटा उद्योगको लाइन काटिएको थियो।
प्राधिकरणले महसुल बुझाउनका लागि पर्याप्त समय दिएको भएपनि उद्योगहरूले अटेरी व्यवहार देखाएपछि बाध्य भएर लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
अहिले विवादित उद्योगहरूमध्ये १४ वटा उद्योगले महसुलको पहिलो किस्ता बुझाइसकेका छन्। यस्तै, डाबर नेपाल र सुदूरपश्चिम हवाई कार्यालयको धरौटी रकम किस्ता बराबर भएकाले उनीहरूको सेवा बन्द गरिएको छैन।
त्यस्तै, अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल, बाबा जुट मिल, युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट र पोलिप्याक्स गरी ६ वटा उद्योगले अदालतको शरण लिएका छन्। अदालतको आदेशअनुसार उनीहरूको विद्युत् सेवा हालका लागि यथावत् राखिएको छ।
असोज १० गते बसेको नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकले विवादित महसुल उठाउने निर्णय गरेको थियो। त्यसअनुसार असोज २ गतेसम्मको समय सीमा तोकिएको थियो। तर, उद्योगीहरूले महसुल दर अन्यायपूर्ण भएको दाबी गर्दै नतिर्ने अडान लिँदै आएका छन्।
प्राधिकरणले भने महसुल उठाउने नीति कडाइका साथ कार्यान्वयन गरिने चेतावनी दिएको छ।













