अमेरिकाको दबाबमा सम्झौता हुँदैन : भारतीय वाणिज्यमन्त्री पीयुष गोयल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ ।भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले अमेरिकासँग कुनै पनि व्यापार सम्झौता दबाब वा हतारमा नगर्ने स्पष्ट अडान व्यक्त गरेका छन्।
जर्मनीमा आयोजित एक कार्यक्रममा मन्त्री गोयलले अमेरिकासँग व्यापारबारे वार्ता चलिरहेको पुष्टि गर्दै भारतले आफ्नो हित र दीर्घकालीन नीति अनुसार मात्र निर्णय लिने बताएका हुन्। “हामी अमेरिकासँग कुराकानी गरिरहेका छौँ, तर शिरमा बन्दुक राखेर सम्झौता गर्दैनौँ। हामी हतारमा डिल गर्न चाहँदैनौँ,” उनले भने।
मन्त्री गोयलले भारत दीर्घकालीन सोचका साथ अघि बढिरहेको उल्लेख गर्दै कुनै पनि बाह्य दबाबमा झुक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले भने, “हामी कहिल्यै हतारमा निर्णय लिँदैनौँ। भारत दीर्घकालीन रणनीतिमा चल्ने देश हो।”
उनका अनुसार भारत अहिले नयाँ बजारहरूको खोजीमा छ र आन्तरिक उत्पादन तथा मागलाई सुदृढ बनाउने दिशा लिइरहेको छ ।अमेरिकाले पछिल्ला वर्षहरूमा भारतबाट निर्यात हुने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाएको छ।
यससँगै भारतका उत्पादनहरूमा कुल कर दर ५० प्रतिशत पुगेको छ। ट्रम्प प्रशासनले यो कर वृद्धिलाई भारतले रूसबाट तेल र हतियार खरिद गरेको प्रतिक्रियास्वरूप ‘सजाय’का रूपमा व्याख्या गरेको थियो।
भारतले भने आफ्नो व्यापार नीति राष्ट्रिय हितमा आधारित हुने र कुनै पनि मुलुकको दबाबमा परिवर्तन नहुने स्पष्ट सन्देश दिएको छ। सरकारका अनुसार भारत आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढ्दैछ र दीर्घकालीन हितका लागि स्वतन्त्र व्यापार नीति कायम राख्नेछ।













