ह्यात होटलको सेवा बन्दबारे प्रधानमन्त्रीको चासो, सरकारद्वारा तत्काल संवाद सुरु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of ह्यात होटलको सेवा बन्दबारे प्रधानमन्त्रीको चासो, सरकारद्वारा तत्काल संवाद सुरु

काठमाडौ । राजधानीको पाँचतारे ह्यात होटलमा सेवा बन्द र कर्मचारी प्रवेश निषेध गरिएको घटनापछि प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो व्यक्त गरेकी छन् । 

प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान होटल व्यवस्थापनसँग प्रत्यक्ष संवाद गरी अवस्थाबारे जानकारी लिएका थिए । उनले होटल व्यवस्थापनलाई सरकार सुरक्षाको पूर्ण जिम्मेवारी लिन तयार रहेको आश्वासन दिँदै सेवा तुरुन्त सुचारु गर्न आग्रह गरे।

अर्थमन्त्री खनालले भने, “तपाईंहरू कुनै प्रकारको डर या भ्रममा नपर्नुहोस्। सरकार तपाईंहरूको साथमा छ। सुरक्षाको जिम्मा सरकारले लिन्छ। व्यवसाय सुचारु गरेर उच्च मनोबलका साथ अघि बढ्नुहोस्।

होटल व्यवस्थापनले आन्तरिक सुरक्षासम्बन्धी कारण देखाउँदै अस्थायी रूपमा सेवा रोकिएको जानकारी दिएको छ।

तर सरकारका अनुसार यस्तो कदमले देशको पर्यटन क्षेत्र, लगानी वातावरण र अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले तत्काल संवाद र समाधान आवश्यक देखिएको छ।

सरकारले भोलि आइतबार होटल व्यवस्थापनसँग पुनः बैठक गर्ने र आवश्यक सबै सहयोग तथा समन्वयका कदम चाल्ने तयारी गरेको छ।

ह्यात रिजेन्सी काठमाडौं नेपालकै प्रतिष्ठित पाँचतारे होटलमध्ये एक हो। जसले विदेशी पाहुना, राजनयिक र व्यावसायिक सम्मेलनहरूका लागि लामो समयदेखि सेवा दिँदै आएको छ।

होटलमा सेवा अवरुद्ध भएपछि पर्यटक र उद्योग क्षेत्रका सरोकारवालाहरूले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न सक्ने चेतावनी दिएका छन्।