आन्दोलनरत नर्सहरूको पक्षमा नेविसंघ, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघले देशभर आन्दोलनमा रहेका नर्सहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै सरकारले तत्काल समाधान खोज्नुपर्ने जनाएको छ।
शनिबार जारी विज्ञप्तिमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नर्सहरूले उठाएका पेशागत अधिकार, सम्मान र न्यूनतम पारिश्रमिकका माग न्यायसंगत र वैधानिक रहेको भन्दै सरकारलाई अविलम्ब सुनुवाइ गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “देशभरका नर्सहरूले आफ्ना पेशागत अधिकार, सम्मान र न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलनप्रति नेपाल विद्यार्थी संघ पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ।”
संघले नर्सहरूका लागि न्यूनतम तलब, जोखिम भत्ता र सम्मानजनक सुविधा तुरुन्त लागू गर्नुपर्नेमा जोड दिएको छ। साथै निजी अस्पतालहरूमा सरकारी तलब मापदण्ड पालनामा लापरबाही देखिएको भन्दै त्यसको प्रभावकारी अनुगमन र नियमनको माग गरेको छ।
नेविसंघले श्रम शोषण, विभेद र अपमानजनक व्यवहार अन्त्यका लागि ठोस कानुनी र नीतिगत सुधार तुरुन्त लागू गर्न सरकारसमक्ष जोडदार माग गरेको छ।
नेपालको श्रम ऐन, २०७४ अनुसार न्यूनतम ज्याला १९ हजार ५५० रुपैयाँ तोकिएको छ भने स्वास्थ्य मन्त्रालयले नर्स र स्वास्थ्यकर्मीहरूको लागि पाँचौं तहको तलब ३४ हजार ७३० रुपैयाँ निर्धारण गरेको छ। तर, अधिकांश नर्सहरू अझै पनि १५ देखि २० हजार रुपैयाँमा काम गर्न बाध्य छन्।













