मिथिलामा आजदेखि छठ पर्व औपचारिक रूपमा सुरु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मिथिलामा आजदेखि छठ पर्व औपचारिक रूपमा सुरु

काठमाडौ । मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व मानिने छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म चल्ने यो पर्वको पहिलो दिननहायखाएविधिसँगै जनकपुरधाम र आसपासका क्षेत्रका श्रद्धालुहरूमा धार्मिक उत्साह छाएको छ।

जनकपुरधामका प्रमुख घाटहरू गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर र मटकोरर्वा पोखरीमा अहिले सफाइ र सजावटको अन्तिम तयारी भइरहेको छ। झिलिमिली बत्ती, बाँसका तोरण र माटोका कलशहरूले घाटहरू रंगिएको देखिन्छ।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले यस वर्ष पनि विगतभन्दा राम्रो व्यवस्थापन गरिएको बताए। उनका अनुसार घाटमा पण्डाल, प्रकाश व्यवस्था र भक्तजनहरूको सुरक्षाका लागि पर्याप्त तयारी भइसकेको छ। उनले भने, “प्रत्येक अघ्र्यका लागि रु ६०० सहयोग स्वरूप निर्धारण गरिएको छ, तर यसमा कुनै बाध्यता छैन।

अरगजा सर छठ समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएलगत्तै तयारी सुरु भएको बताए। उनका अनुसार घाटको सफाइ र सजावटको काम अन्तिम चरणमा छ। उनले भने, “हिन्दूहरूसँगै यहाँ मुस्लिम समुदायका केही सदस्यहरू पनि सक्रिय रूपमा सहभागी भइरहेका छन्। छठ मिथिलाको साझा संस्कृतिको प्रतीक बनेको छ।

जनकपुरधामका बजारहरूमा पनि अहिले छठका सामान किन्नेहरूको भीड लागेको छ। बाँस र माटोबाट बनेका टोकरी, नाङ्लो, घैँटो, कनसुपती, हात्ती, सूपजस्ता सामग्रीको माग अत्यधिक बढेको छ। व्यापारीहरूका अनुसार स्थानीय उत्पादनको उपयोग बढेकाले यस वर्षको व्यापार सन्तोषजनक रहेको छ।

छठ पर्वमा प्रयोग हुने सबै सामग्री घरमै उत्पादन गर्ने परम्परा मिथिलामा अझै जीवित छ। गहुँ र चामल आफ्नै खेतबारीमा उत्पादन गरी त्यसलाई धोइ पखालेर घरको जाँतोमा पिसेर ठेकुवा र भुसवा बनाइन्छ।

चार दिनसम्म चल्ने छठ पर्वमा पहिलो दिननहायखाए’, दोस्रो दिनखरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य र अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्व सम्पन्न गरिन्छ।

प्रहरीले जनकपुरधामका सबै प्रमुख घाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ। अनुमान अनुसार यस वर्ष पाँच हजारभन्दा बढी श्रद्धालुहरूले विभिन्न घाटमा अघ्र्य दिने अपेक्षा गरिएको छ।

छठ केवल पूजा होइन, यो आत्मसंयम, शुद्धता र सूर्यप्रति आभार प्रकट गर्ने जीवन दर्शनको पर्व हो। मिथिलाका घाटहरू अहिले भक्तिको उज्यालोमा नुहाइरहेका छन्।