त्रिदेशीय महिला फिफा मैत्रीपूर्ण फुटबल: नेपाल ३–० ले इरानसँग पराजित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of त्रिदेशीय महिला फिफा मैत्रीपूर्ण फुटबल: नेपाल ३–० ले इरानसँग पराजित

काठमाडौ । भारतको सिलोङस्थित जवारलाल नेहरू रंगशालामा शुक्रबार सम्पन्न त्रिदेशीय महिला फिफा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको छ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेले पनि दोस्रो हाफको सुरुवातमै नेपालले लगातार तीन गोल खाएको थियो। खेलको ४९औँ मिनेटमा इरानकी साराले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।

गोलकिपरको लङ पासमा नेपाली डिफेन्डर बिमला विक र गोलकिपर एन्जिला तुम्बापो सुब्बाबीच तालमेल मिल्न नसक्दा साराले सहज गोल गरिन्। त्यसपछि ५२औँ मिनेटमा इरानकी कप्तान जेहरा गाबारीले डिबक्स बाहिरबाट प्राप्त फ्रिकिकलाई गोलमा परिणत गरिन्।

इरणको तर्फबाट तेस्रो गोल खेलको ५७औँ मिनेटमा सबनामले गर्दै टोलीको जित सुनिश्चित गरिन्। नेपालले पहिलो हाफमा संयमित प्रदर्शन गरे पनि दोस्रो हाफमा रक्षात्मक कमजोरी र ध्यान अभावका कारण खेल हातबाट फुत्किएको हो।

त्रिदेशीय प्रतियोगितामा अब नेपालले आफ्नो दोस्रो खेल आयोजक भारतसँग कार्तिक १० गते खेल्नेछ। फिफा महिला विश्व वरीयतामा इरान ७०औँ स्थानमा रहेको छ भने नेपाल ८९औँ स्थानमा छ।