खनालले गरे माओवादीसँग एकता अस्वीकार : समाजवादी पुनर्गठनमै हाम्रो बाटो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of खनालले गरे माओवादीसँग एकता अस्वीकार : समाजवादी पुनर्गठनमै हाम्रो बाटो

काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरणको तयारीप्रति असहमति जनाएका छन्। केही सञ्चारमाध्यमले उनलाई पनि माओवादीसँग मिल्न तयार भएको भनी प्रकाशित समाचारको उनको सचिवालयले खण्डन गरेको हो।

खनालका प्रेस सहयोगी मिलन उपाध्यायका अनुसार खनाल अहिले पनि एकीकृत समाजवादी पार्टीकै पुनर्गठन र सुदृढीकरणको पक्षमा अडिग छन्। “कमरेड झलनाथ खनालसँग अहिले मेरो कुरा भएको छ,” उपाध्यायले भने, “उहाँको अडान असोज २६ गते जारी गरिएको वक्तव्यमै यथावत् छ,अहिलेको परिस्थितिमा माओवादीसँग एकीकरण उचित हुँदैन।”

खनालले सो वक्तव्यमा अध्यक्ष माधवकुमार नेपाललाई माओवादी केन्द्रसँगको एकीकरण तयारी तत्काल रोक्न आग्रह गरेका थिए। उनले एमालेबाट अलग भएको चार वर्षे यात्राको “गहिरो आत्मालोचनात्मक समीक्षा आवश्यक” रहेको बताएका थिए।

हाल भारतको दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि रहेका खनालले पनि भारतबाटै नेतृत्वलाई एकीकरणमा नजाने चेतावनी दिएका छन्। “असोज २६ गते जारी गरिएको आधिकारिक विज्ञप्ति नै खनालको दृढ र अटल राजनीतिक धारणा हो,” उपाध्यायले भने, “उहाँ समाजवादी आन्दोलनको पुनर्जागरण र दलगत स्वाभिमानको निरन्तरतामा विश्वास राख्नुहुन्छ।”

उपाध्यायले केही मिडियामा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै भ्रममा नपर्न आग्रह गरेका छन् ।