एकीकृत समाजवादीको कात्तिक १२ गते केन्द्रीय समिति बैठक, वाम एकता र निर्वाचन मुख्य एजेन्डा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले यही कात्तिक १२ गते केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकको प्रमुख एजेन्डा विभिन्न वामपन्थी शक्तिहरूसँग एकता र आगामी प्रतिनिधिसभा निर्वाचनका तयारी हुने बताइएको छ।
पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार, बैठकले वामपन्थी, कम्युनिस्ट र समाजवादी दलहरूसँग भइरहेको वार्ता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउने लक्ष्य राखेको छ। उनले भने, “एकतापछि पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरूको भूमिकाको व्यवस्थापन र संगठन सुदृढीकरणका विषयमा पनि विस्तृत छलफल हुनेछ।”
बैठकमा पार्टीभित्र देखा परेका वैचारिक मतभेद र संगठनात्मक विवाद समाधान गर्ने तयारी गरिएको छ। पार्टीभित्रका अधिकांश नेताहरूले हाल सबै वामपन्थी शक्तिबीच ध्रुवीकरणका लागि गृहकार्य अघि बढाउन सुझाव दिएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि बैठकले निर्णय लिनेछ। त्यसका लागि पार्टीका सबै तहका समिति र जनवर्गीय संगठनहरूलाई सक्रिय रूपमा परिचालन गरिने बताइएको छ।
बैठकले गणतन्त्र र संविधानको रक्षा, लोकतान्त्रिक शक्तिबीच संवाद र सहकार्य विस्तार गर्दै वर्तमान राजनीतिक संकट समाधानमा पहल गर्ने जिम्मेवारी पनि लिने तयारी गरेको छ। यसअघि समाजवादी मोर्चामा आबद्ध दलहरूबीच एकताको गृहकार्य गरिरहेको एकीकृत समाजवादीलाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समेत वाम एकताको आह्वान गरेका थिए।
उता नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बिच यहि कार्तिक ३० गते अघि नै पार्टी एकता गरि निर्वाचनको तयारीमा जाने तयारी गरेका छन् । दुई पार्टी विच एकताको तयारी भै रहदा समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भने पार्टी एकताको बिपक्षमा देखिएका थिए । तर पछिल्लो राजनीतिक घटनाक्रमका आधारमा खनाल पनि पार्टी एकताको पक्षमा देखिएको बताइएको छ ।
पार्टी एकताको मोडालिटीका बिषयमा भने दुई दल विच निरन्तर छलफल चलि रहेको छ ।













