देशभर मालपोत कार्यालय जलेपछि जग्गा धनीहरूमा स्रेस्ता कायम गर्ने प्रक्रिया सुरु
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । देशभरका विभिन्न मालपोत कार्यालयमा आगलागी हुँदा धेरै जग्गा धनीहरू आफ्नो जग्गाको स्रेस्ता कायम गर्न असमर्थ भएका छन्। भदौ २३ र २४ गते भएको आन्दोलनका कारण २२ वटा मालपोत कार्यालयमा क्षति पुगेको छ।
यसमध्ये ९ वटा कार्यालय पूर्ण रूपमा जलेका छन् भने चार–पाँच वटा अत्यधिक ध्वस्त भएका छन्। केही कार्यालयमा स्रेस्ताहरू आंशिक रूपमा मात्र बचेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागका निमित्त महानिर्देशक खिमानन्द आचार्यका अनुसार, मालपोतमा जग्गा धनीको स्रेस्ता र मोठ जलेको भए पनि, जससँग नागरिकता र धनी पुर्जा वा लिखत छ, उनीहरूले सजिलै आफ्नो स्रेस्ता कायम गर्न सक्नेछन्।
जलेका कार्यालयमा अनलाइन प्रणाली र स्थानीय तहको रसिदमार्फत विवरण खोजेर स्रेस्ता पुनः कायम गर्न सकिन्छ। स्रेस्ता कायम गर्न अब १०–११ प्रकारका कागजात आवश्यक नपर्ने आचार्यले बताए। आचार्यका अनुसार, अब दुई–तीन वटा प्रमाण मात्र प्रस्तुत गरे पर्याप्त हुनेछन्। घर र सम्पूर्ण कागजात जलेको अवस्थामा पनि नागरिकता र मालपोत रसिद वा एलआरआईएसमा भएको विवरण आधार बनाइन्छ।
जग्गा धनी स्वयं उपस्थित हुनुपर्ने व्यवस्था छ। विदेशमा रहेका जग्गाधनीहरूलाई नेपाल आउनुपर्दछ र आफ्नो अनुकूल समयमा मालपोतमा आएर स्रेस्ता कायम गर्न सकिन्छ। बैंक वा वित्तीय संस्थामा लालपुर्जा राखेकाहरूका लागि पनि बैंकले फोटोसहितको विवरण मालपोतमा पठाउने व्यवस्था गरिएको छ।
स्रेस्ता कायम गर्ने प्रक्रियामा कुनै निश्चित समय सीमा तोकिएको छैन। आचार्यका अनुसार, यो विपत्तिको अवस्था भएकाले जबसुकै स्रेस्ता कायम गर्न सकिन्छ। यस क्रममा अर्को व्यक्तिको नाममा स्रेस्ता पास हुने जोखिम धेरै कम रहेको बताए।
२०७७ सालपछि सुरु भएको डिजिटल प्रणालीले स्रेस्ता कायम गर्ने काम सजिलो बनाएको छ। तर २०७७ अघि जग्गा किनेका र इन्ट्री नभएका व्यक्तिहरूले पनि मालपोतमा आएर हार्ड कपी तयार गराएर स्रेस्ता कायम गर्नु अनिवार्य छ।
आचार्यले सबै जग्गा धनीलाई आफ्नो नागरिकता र धनी पुर्जा सुरक्षित राखेर, जलेका मालपोतको विवरणअनुसार स्रेस्ता कायम गराउन मालपोत कार्यालयमा उपस्थित हुन आवश्यक छ।













