राष्ट्रिय सभा अध्यक्ष दाहाल र अस्ट्रेलियाका सभामुख मिल्टन डिक विच भेटवार्ता

User Image Prime TV News ४ हप्ता अगाडि
Image of राष्ट्रिय सभा अध्यक्ष दाहाल र अस्ट्रेलियाका सभामुख मिल्टन डिक विच भेटवार्ता

काठमाडौ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता भएको छ।

अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को १५१ अ‍‍ौँ महासभाको सन्दर्भमा जेनेभामा रहेका राष्ट्रिय सभा अध्यक्ष दाहालले अस्ट्रेलियन सभामुखसँग भेट गरेका हुन् ।

भेटमा दुई देशबिचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल भएको छ ।

अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा जलवायु परिवर्तनको सामना, नवीकरणीय ऊर्जा, स्थानीय सुशासन लगायतका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरेका थिए ।

१ लाख ८० हजार बढी नेपालीहरू अस्ट्रेलियामा रहेको भन्दै अध्यक्ष दाहालले ६० हजार बढी विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको स्मरण गराए ।

अस्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदान प्रदानजस्ता कार्य विस्तारमा जोड दिन आग्रह गरे । 

आइपियू महासचिवसँग भेट 

यसैबिच अध्यक्ष दाहालले जेनेभामा अनुरागसिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डल तथा अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) का महासचिव मार्टिन चुङगोङसँग भेटवार्ता गरेका छन् ।

भारतीय टोलीसँगको भेटमा अध्यक्ष दाहालले भारतसँगको सम्बन्ध अ‍ौपचारिक र देशबिचको मात्र नभई जनताजनताबिचको सम्बन्ध बलियो रहेको बताए ।

नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न हुने नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै अध्यक्ष दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए ।

त्यस्तै, आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्रराष्ट्रहरूको साथ र सहयोगका लागि अध्यक्ष दाहालले आग्रह गरेका थिए ।