पार्टी आवद्धता बारे कुनै छलफल भएको छैन: मन्त्री घिसिङ
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू कुनै राजनीतिक पार्टीमा आबद्ध हुने विषयमा कुनै पनि छलफल नभएको स्पष्ट पारेका छन्।
मन्त्री घिसिङले आफूलाई उज्यालोनेपालपार्टी सँग जोडिएको र सो पार्टीको अध्यक्ष बन्ने तयारी भइरहेको भन्ने समाचारहरू निराधार र तथ्यहीन रहेको बताएका छन्।
उनले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आफूसँग जोडेर प्रकाशित भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती सबै समाचार असत्य भएको बताए।
‘सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन,’ मन्त्री घिसिङले स्पष्ट पारेका छन्।
‘प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागिता पनि छैन। मेरो सल्लाहबिना दूषित मनसायका साथ असत्य सामग्री प्रचार गरिएको हुँदा यसको कडा खण्डन गर्दछु,’ उनले भने।
मन्त्री घिसिङले यस्ता भ्रमपूर्ण समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गर्दै जिम्मेवार पत्रकारिताको पालन गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेका छन्।













