जेनजीको उदय ? किन भारतीय युवाहरू सडकमा निस्किरहेका छैनन्?
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । भारतको जेनजेड पुस्ता विशाल, अस्थिर र अत्यधिक जडित छ । ३७ करोडभन्दा बढी २५ वर्ष मुनिका युवाहरू छन् ।जुन देशको कुल जनसंख्याको करिब चौथाई हो ।
स्मार्टफोन र सामाजिक सञ्जालले तिनीहरूलाई निरन्तर राजनीति, भ्रष्टाचार र असमानताबारे जानकारी गराइरहेका छन् । तर सडकमा उत्रिनु उनीहरूका लागि जोखिमपूर्ण र टाढाको कुरा जस्तो लाग्छ, “राष्ट्रविरोधी” भन्ने डर, जातीय र क्षेत्रीय विभाजन, आर्थिक दबाब, र आफ्ना कदमले खासै प्रभाव पार्ने छैन भन्ने भावना सबैले तौल दिएका छन् ।
एशिया र अफ्रिकाका अन्य देशहरूमा भने यही पुस्ता करिब १९९७ देखि २०१२ बीच जन्मिएका बिलकुलै शान्त छैन । नेपालमा गत महिना युवाहरूले ४८ घण्टामै सरकार ढाले । म्याडागास्करमा युवाहरूले नेतृत्व गरेको आन्दोलनले देशको नेता हटायो ।
इन्डोनेसियामा रोजगारी र बढ्दो जीवनयापन खर्चबारे असन्तुष्ट युवाहरूले सरकारबाट रियायत जिते । बंगलादेशमा पनि जागिरका कोटा र भ्रष्टाचारविरुद्धको आक्रोशले गत वर्ष शासन परिवर्तन गरायो । यी सबै आन्दोलनहरू सामाजिक सञ्जाल र इन्क्रिप्टेड एपमार्फत समन्वयित, तीव्र, विकेन्द्रित र राजनीतिक भ्रष्टाचारप्रति निराश छन् ।
भारतमा भने असन्तोषका हल्का झिल्का देखिएका छन् । सेप्टेम्बरमा लद्दाख क्षेत्रमा राज्यको माग गर्दै युवाहरू र प्रहरीले झडप गरे । अभियन्ता सोनम वाङ्चुकले यसलाई “जेनजेडको आक्रोश” र लामो समयदेखि दबिएको रिसको संकेत भने ।
यो मनोवृत्ति राष्ट्रिय राजनीतिमा पनि परावर्तित भयो । कांग्रेस नेता राहुल गान्धीले “जेनजेडले मतदाताको धाँधली रोक्छ र संविधान बचाउँछ” भनेपछि धेरै युवाले समर्थन गरे । उनले कर्नाटकमा ठूला स्तरमा निर्वाचन अनियमितता भएको आरोप लगाएका थिए ।
नेपालको आन्दोलनपछि दिल्लीका प्रहरी प्रमुखले पनि राजधानीमा सम्भावित युवा आन्दोलनको तयारी गर्न आदेश दिएका छन् ।
अनलाइनमा बहस तीव्र र विभाजित छ । केहीले भारतका युवालाई नेपालजस्तै आन्दोलन गर्न आग्रह गरेका छन् । अरूले भने हिंसात्मक परिणाम सम्झाउँदै नेताविहीन आन्दोलनलाई रोमानीकरण नगर्न चेतावनी दिएका छन् ।
भारतको विद्यार्थी आन्दोलनको लामो इतिहास छ, इन्दिरा गान्धीविरुद्धको प्रदर्शनदेखि हालका विश्वविद्यालय आन्दोलनसम्म । तर विज्ञहरू भन्छन् ,नेपाल वा बंगलादेशजस्तै यहाँ केन्द्र सरकारलाई ढाल्ने सम्भावना न्यून छ ।
मुख्य कारण भनेको भारतको जेनजेड वर्गको विखण्डन हो । बेरोजगारी, भ्रष्टाचार र असमानताबाट तिनीहरू असन्तुष्ट छन्, तर तिनीहरूको आक्रोश प्रायः स्थानीय मुद्दामा केन्द्रित हुन्छ ।
बिहारका पत्रकार बिपुल कुमार भन्छन्, “हामीलाई एउटै शक्तिले जोड्न सक्दैन । भारतमा सत्ता पनि विकेन्द्रित छ, युवाहरूको रिस पनि । म संघीय सरकारलाई चुनौती दिन चाहन्छु, तर धेरै युवाहरूलाई त सरकारी जागिर चाहिएको छ ।”
यही कारण हो कि युवा नीतिविद् सुधांशु कौशिकले भारत जेन–जेड क्रान्तिमा “अपवाद” रहिरहने बताउँछन् । उनका अनुसार, भारतका युवाहरू क्षेत्रीय, भाषिक र जातीय पहिचानका कारण पनि फरक–फरक छन् ।“भारतमा दलित, शहरी वा तमिल भाषी जेन–जेड मध्ये कसको आन्दोलन हुने हो ? वास्तवमा युवाहरूका चासोहरू एकअर्कासँग ठोक्किने गरी विविध छन्,” उनले भने ।
शहरी युवाहरू रोजगारी र पूर्वाधारमा केन्द्रित छन् । दलित युवाहरू जातीय विभेद र सामाजिक न्यायमा । तमिल युवाहरू भने भाषिक अधिकार र सांस्कृतिक पहिचानमा । गुजरात र हरियाणामा माथिल्लो जातिका युवाहरूले आरक्षण बढाउन माग गर्दै आन्दोलन गरे भने तमिलनाडुमा अदालतले जालिकट्टु प्रतिबन्ध लगाएपछि युवाहरू सडकमा उत्रिए ।
यससँगै अर्को अवरोध पनि छ, “राष्ट्रविरोधी” भन्ने डर । राजनीतिशास्त्रका विद्यार्थी धैर्य चौधरी भन्छन्, “यो लेबलले सचेत युवाहरूलाई पनि सडकमा उत्रिन रोक्छ ।” केही विश्वविद्यालयहरूमा त विरोध प्रदर्शनमै प्रतिबन्ध छ ।
सरकारले युवाशक्ति राष्ट्रको प्राथमिकता भएको बताउँछ । तर बेरोजगारी र आर्थिक दबाबका कारण धेरैले विदेश रोजिरहेका छन् । कौशिक भन्छन्, “अर्थतन्त्र विश्वभन्दा केही राम्रो देखिए पनि बेरोजगारीको चिन्ता बढ्दो छ । युवाहरू आफ्नै हातले भविष्य खोज्न थालेका छन् ।”
१८ वर्षका युवामध्ये केवल ३८ प्रतिशतले मात्रै सन् २०२४ को चुनावका लागि नाम दर्ता गरे । नयाँ सर्वेक्षण अनुसार, २९ प्रतिशत युवाहरूले परम्परागत राजनीतिलाई पूर्ण रूपमा टारेका छन् ।
धेरै युवाहरूले आफ्नो पहिचान धर्म, संस्कृति र भाषाबाट निर्धारण गर्न थालेका छन् । त्यसैले सत्तारूढ हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले २०१९ मा ४० प्रतिशत युवाको समर्थन पाएको थियो, जुन २०२४ मा थोरै मात्र घटेको छ ।
जेनजेड पुस्ताको राजनीतिक चेतना गहिरो छ । उनीहरूले किशोरावस्थामा अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलनदेखि कश्मीर, किसान र नागरिकता संशोधन ऐन विरुद्धका प्रदर्शनहरू देखेका थिए ।
२०१९ मा जामिया मिलिया इस्लामिया र अलीगढ मुस्लिम विश्वविद्यालयमा विद्यार्थी प्रदर्शन हिंसामा बदलियो । विद्यार्थी नेता उमर खालिद अझै जेलमा छन् । सरकारले यी आन्दोलनलाई “बाह्य प्रभाव” र “राष्ट्रविरोधी” भन्दै दमन गरेको दाबी गर्छ ।
सामाजिक विज्ञ दिपंकर गुप्ताका अनुसार, हरेक पुस्ताको ऊर्जा क्षणिक हुन्छ । अरब स्प्रिङदेखि बंगलादेश र नेपालसम्म, युवाहरूले सरकार ढाल्न सक्छन्, तर स्थायी सुधार दुर्लभ हुन्छ ।
हाल भारतका जेनजेडहरू बिद्रोही भन्दा बढी सतर्क छन्, उनीहरूको असन्तुष्टि दबिएको छ, तर आकांक्षा प्रस्ट छ ।
(विविसीबाट अनुवाद)













