हमासकै नियन्त्रणमा रहँदा विपिनको हत्या भएको इजरायलको पुष्टि
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । गाजामा हराएका नेपाली विद्यार्थी विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा राखेको बेला गोली हानी हत्या गरेको इजरायलले औपचारिक रूपमा पुष्टि गरेको छ।
नेपालका लागि इजरायली राजदूत स्मूलिक एरी बासले कञ्चनपुरमा मंगलबार आयोजित अन्त्येष्टि कार्यक्रममा सहभागी हुँदै जोशीको टाउकोमा गोली हानी हत्या गरिएको जानकारी दिएका हुन्।
राजदूतका अनुसार, फोरेन्सिक परीक्षणले पनि जोशीको टाउकोमा गोली लागेको प्रमाणित भएको छ। उनले बीबीसीसँगको कुराकानीमा भने, “फोरेन्सिक ल्याबले स्पष्ट देखाएको छ, जोशीलाई हमासले नियन्त्रणमा रहँदै गोली हानेको हो। यो हत्या हो, युद्धको बीचमा भएको दुर्घटना होइन।”
जोशीको पार्थिव शरीर इजरायल हुँदै नेपाल पठाइएपछि कञ्चनपुरमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टिमा जोशीको परिवार, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र नेपालका लागि इजरायली राजदूत बास उपस्थित थिए।
राजदूत बासले जोशीलाई साहस र इजरायल–नेपाल मित्रताको प्रतीकका रूपमा सम्झिने बताएका थिए। उनका अनुसार, जोशी युद्धमा बन्धक बनेका थिए र युद्धविरामका क्रममा समेत हमासले उनको अवस्थाबारे कुनै जानकारी सार्वजनिक गरेको थिएन।
हमासले सार्वजनिक गर्ने बन्धक सूचीहरूमा कहिल्यै विपिनको नाम समावेश भएको थिएन। असोज २२ गते इजरायली गुप्तचरले फेला पारेको दुई वर्ष पुरानो भिडियो सार्वजनिक भएपछि जोशी जीवित रहेको आशा जगेको थियो, तर त्यो पनि अन्ततः गलत साबित भयो।
विपिन जोशी इस्रायलको एक कृषि संस्थानमा अध्ययनरत नेपाली विद्यार्थी थिए। गत वर्ष अक्टोबरमा हमासको आक्रमणपछि उनी बेपत्ता भएका थिए। अब इजरायलको पुष्टि अनुसार, उनी युद्धकै बीचमा होइन, नियन्त्रणमा रहँदै मारिएका थिए ।













