प्रचण्डले भदौ २३ को दमनलाई ‘इतिहासकै अमिट घाउ’ भने
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा सरकारले गरेको दमनलाई नेपालको इतिहासमा कहिल्यै नबिर्सिने परिघटना भएको बताएका छन्।
बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रममा उनले तत्कालीन सरकारले युवामाथि गरेको बल प्रयोग र नृशंस हत्या नेपालको राजनीतिक इतिहासमा गहिरो घाउ बनेको बताए।
जेनजी आन्दोलनका युवाहरू सामाजिक न्याय र स्वतन्त्र अभिव्यक्तिका पक्षमा सडकमा आएका थिए, तर सरकारले उनीहरूलाई दमन गरेर ठूलो गल्ती गरेको प्रचण्डको भनाइ छ । उनले भने, “मैले सरकारलाई चेतावनी दिएको थिएँ, बल प्रयोग नगर, नत्र परिणाम भयावह हुनेछ। तर सरकारले त्यही बाटो रोज्यो र देशले त्यसको मूल्य चुकायो।”
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र प्रतिशोधी सोचका कारण देश भयानक अवस्थाबाट गुज्रनु परेको आरोप लगाए। प्रचण्डले भने, “यदि ओलीले त्यतिबेला राजीनामा दिएको भए, २४ गतेको विनाशकारी अवस्था आउँदैनथ्यो। केही घण्टा त देश राज्यविहीनजस्तो देखियो।”
प्रचण्डले संकटको बेला आफूले सबै राजनीतिक दलका शीर्ष नेताहरू, राष्ट्रपति र प्रधानसेनापतिसँग निरन्तर संवाद गरी स्थिति नियन्त्रणमा ल्याउने पहल गरेको दाबी गरे। “२६ गते राति ९ बजेदेखि बिहान साढे ३ बजेसम्म राष्ट्रपति भवनमा वार्ता भयो। त्यो वार्ताले देशलाई दुर्घटनाबाट जोगायो,” उनले भने।
उनले जेनजी आन्दोलनका मागहरू जायज रहेको दोहोर्याउँदै ती मागहरू माओवादी आन्दोलनका आदर्शसँग मेल खाने बताए।













