छठपछि वामपन्थी एकता हुने प्रचण्डको घोषणा,लोकतन्त्रको ‘सर्भिसिङ’ बिना मुलुकका जटिलता समाधान सम्भव छैन
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्व सकिएलगत्तै वामपन्थी दलहरूबीच एकता हुने दाबी गरेका छन् ।
बुधबार बिहान जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चाभित्र रहेका दलहरू एकता प्रक्रियामा गम्भीरतापूर्वक अघि बढिरहेको बताएका हुन्।
“वामपन्थी एकता र ध्रुविकरणको कुरा समाजवादी मोर्चामा भएका पार्टीहरूबीचको एकता प्रक्रियातिर अघि बढेका छौं,” प्रचण्डले भने, “छठपछि नयाँ राजनीतिक परिस्थिति देख्नुहुने, वामपन्थी एकताको।”
उनले प्रतिनिधि सभा निर्वाचन तोकिएको समयमा नै गर्नुपर्नेमा जोड दिँदै सरकारलाई त्यसका लागि पूर्ण तयारी गर्न आग्रह गरे।
“निर्वाचन तोकिएको समयमा हुनुपर्छ। सरकारले गम्भीर भएर निर्वाचनको वातावरण बनाउनुपर्छ,” उनले भने।
“हिजो मात्रै दलहरूसँग भएको संवादबाट सरकार विस्तारै निर्वाचनमुखी बन्दै गएको संकेत पाइन्छ, तर निर्णय गर्ने पार्टी अझै पनि माओवादी केन्द्र नै हो।”
जेनजी आन्दोलनपछि सार्वजनिक अपिल गर्ने र मधेस प्रदेशमा कार्यक्रम सञ्चालन गर्ने पहिलो पार्टी माओवादी केन्द्र भएको दाबी गर्दै प्रचण्डले पार्टी जनतामुखी अभियानमा सक्रिय रहेको बताए।
यसै विच नेपाल संवत् ११४६ को अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले अहिलेको राजनीतिक र सामाजिक जटिलता समाधान गर्न लोकतन्त्रको 'अग्रगामी सर्भिसिङ' अनिवार्य भएको बताएका छन्।
मुलुक पुनः एकताबद्ध हुँदै अग्रगामी बाटोतर्फ अघि बढ्ने मोडमा रहेको उल्लेख गरे। “आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौं,” उनले भने, “लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौं। लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन।”
उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको पनि स्मरण गरे। प्रचण्डले परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्न आग्रह गरे।













