शंखधर साख्वाको निस्वार्थ सेवाभावबाट प्रेरणा लिनु पर्ने राष्ट्रपति पौडेलको सन्देश

User Image Prime TV News ४ हप्ता अगाडि
Image of शंखधर साख्वाको निस्वार्थ सेवाभावबाट प्रेरणा लिनु पर्ने राष्ट्रपति पौडेलको सन्देश

काठमाडौ । नेपाल सम्वत् ११४६ को शुभारम्भका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई स्मरण गर्दै निस्वार्थ सेवाभाव, समानता र परोपकारको मार्गमा अघि बढ्न सबै नेपालीलाई आह्वान गरेका छन्।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले जनताको स्वतन्त्रता र आर्थिक मुक्ति सुनिश्चित गर्न साख्वाले गरेको ऐतिहासिक कार्य नेपाली समाजका लागि युगान्तकारी भएको उल्लेख गरेका छन्।

उनले भने, 'लिच्छवी राजा राघवदेवको शासनकालमा काठमाडौँ उपत्यकाका किसान र गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले नयाँ युगको सुरुवात गरे। त्यस दिनदेखि नै नेपाल सम्वत्को आरम्भ भएको मानिन्छ।'

राष्ट्रपतिले साख्वाको सामाजिक सेवा, समानता र मानवीय मूल्यप्रतिको समर्पणले आजको समाजलाई अझ उत्तरदायी र एकताबद्ध बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले नेपाल सम्वत्लाई नेपालकै मौलिक पात्रोको रूपमा वर्णन गर्दै यसले नेपाली समाजको सहिष्णुता, एकता र सांस्कृतिक विविधताको सुन्दर झल्को दिन्छ भने।

शंखधर साख्वाले प्रवर्तन गरेको नेपाल सम्वत् हाम्रो गौरवशाली इतिहासको प्रतीक हो। उनको निस्वार्थ सेवाभाव र लोककल्याणकारी सोचले हामीलाई न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस्।” राष्ट्रपति पौडेलले शुभकामनामा भनेका छन् ।