दीपावलीपछि दिल्ली विषाक्त धुवाँले ढाकियो, वायु प्रदूषण ‘गम्भीर’ स्तरमा
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । लाखौँ श्रद्धालुले हिन्दू धर्मको ठूलो पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी मनाएपछि भारतको राजधानी नयाँदिल्ली गाढा र विषालु धुवाँको मुस्लोभित्र हराएको छ।
पटाकाहरूका कारण सहरको वायु प्रदूषण एक्कासी तीव्र भएको हो। यसले पहिल्यै मौसमी धुलो र स्थिर मौसमसँग मिसिँदा वातावरण झन विषाक्त बनेको छ।
मङ्गलबार बिहानसम्म धेरै क्षेत्रको वायु गुणस्तर सूचकाङ्क ३५० नाघेको छ । विश्व स्वास्थ्य सङ्गठनका मापदण्डअनुसार यो ‘गम्भीर’ स्तर हो, जसले सास फेर्न नै जोखिमपूर्ण बनाउँछ।
सहरका सडक, भवन र ऐतिहासिक स्मारकहरू खैरो धुवाँले ढाकिएका छन्। गत हप्ता भारतको सर्वोच्च अदालतले कम प्रदूषण उत्सर्जन गर्ने “हरित पटाका” को सीमित प्रयोगलाई अनुमति दिएको थियो।
यी पटाकाले साधारण पटाकाभन्दा करिब ३० प्रतिशत कम हानिकारक पदार्थ उत्सर्जन गर्ने भनिए पनि, सहरभर नियम उल्लङ्घन हुँदै व्यापक रूपमा साधारण पटाकै प्रयोग गरिएको देखिएको छ।
तीन करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने नयाँदिल्ली हरेक वर्ष दीपावलीपछि विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक बन्छ। आतशबाजीसँगै नजिकका राज्यमा किसानहरूले खेतमा जलाउने बाली अवशेषको धुवाँ र चिसो मौसमले समस्या झन् गहिरो बनाएको छ।
राजधानी प्रशासनले आपतकालीन कदमस्वरूप निर्माण कार्यमा प्रतिबन्ध, डिजेल जेनेरेटरको प्रयोगमा रोक र सवारी साधनमा निगरानी बढाएको छ। तर पर्यावरणविद्हरूले स्वच्छ ऊर्जाको प्रवर्द्धन, सार्वजनिक यातायातको विस्तार र उत्सर्जन नियन्त्रणलाई स्थायी उपायका रूपमा अघि सार्न आग्रह गरेका छन्।
पर्यावरणविद्हरूले भनेका छन्,'दीपावली उज्यालोको पर्व हो, तर जब त्यो उज्यालोले आकाश अन्धकारले ढाक्छ, त्यो श्रद्धा होइन, आत्मविनाश हो।'













