पूर्वराष्ट्रपतिको घरमा आगजनी आरोपमा एमाले निकट कार्यकर्ता पक्राउ
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । गत भदौ २३ र २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घरमा आगजनी र तोडफोड गरेको आरोपमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ता सोनम थेबे पक्राउ परेका छन्।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनामका स्थायी बासिन्दा थिए। हाल काठमाडौंको धुम्बाराहीमा बस्दै आएका उनले आन्दोलनका क्रममा विभिन्न हुलदङ्गामा सक्रिय भूमिका खेलेको प्रमाण फेला परेपछि आइतबार प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार थेबेले भंगालस्थित पूर्वराष्ट्रपतिको घरमा तोडफोड र आगजनीमा प्रत्यक्ष संलग्नता जनाएका थिए।
उनी लामो समयदेखि राजधानीका विभिन्न स्थानमा गुण्डागर्दी, मिटरब्याज र धम्कीमार्फत रकम असुल्ने गतिविधिमा संलग्न रहेको बताइएको छ।
थेबे चक्रे मिलन समूहसँग नजिक रहेको र उनले धुम्बाराही क्षेत्रका व्यापारी, होटल व्यवसायी र जग्गा कारोबारीहरूसँग हप्ता उठाउने गरेको प्रहरीको दाबी छ।
यसअघि पनि वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। उनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक करोड आठ लाख ३० हजार रुपैयाँ असुलेको अभियोग थियो।













