भयरहित वातावरणमा तोकिएकै समयमा चुनाव गराउँछौं: प्रधानमन्त्री कार्की

User Image Prime TV News ४ हप्ता अगाडि
Image of भयरहित वातावरणमा तोकिएकै समयमा चुनाव गराउँछौं: प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा निर्वाचन गराउने सरकारको दृढ प्रतिबद्धता दोहोर्याएकी छिन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँगको संवादका क्रममा उनले चुनाव तोकिएकै समयमा भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बताइन ।

निर्वाचनकालागि राज्यका सबै निकायहरू अहोरात्र खटिएको जानकारी दलका नेताहरुलाई जानकारी गराएकी थिइन् । दलहरूसँग संवादमा ढिलाइ किन भयो भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले सरकारको प्राथमिकता फरक दिशामा केन्द्रित भएको बताइन्।

उनले भनिन्, 'घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन, परिवारका लागि राहत, र आन्दोलनकारी पक्षका आवाज सुन्ने काममा समय बित्यो। सुरुवाती चरणमा जेनजी युवाहरूले पनि दलहरूसँग संवाद गर्ने इच्छा देखाउनुभएको थिएन। तर अब राष्ट्रपति ज्यूको पहलपछि संवादको ढोका खुलेको छ।'

उनले सबै पक्षलाई वार्ता र सहकार्यका माध्यमबाट देशलाई स्थायित्वतर्फ लैजान आह्वान गर्दै भनिन्, 'अब जेनजी र दलहरू एकै ठाउँमा बसौं। जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔं। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट जिम्मेवारी वहन गर्नुपर्छ।'

प्रधानमन्त्री कार्कीले दलका नेताहरूले व्यक्त गरेका चिन्ता र सुझावलाई सरकार गम्भीरतापूर्वक लिने बताउँदै दलहरुले राखेका चासो र चिन्ता सम्बोधन गर्न सरकार तयार  रहेको बताइन् ।