जेनजी आन्दोलनको मर्मभन्दा बाहिर सरकार जाने छैन: प्रधानमन्त्री कार्की
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्म र जनादेशअनुसार नै अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएकी छन्।
बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटघाटका क्रममा उनले सरकारले आन्दोलनको भावना र कानुनी प्रक्रियालाई समान रूपमा सम्मान गर्ने बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्, 'सरकार कानुनी मर्यादाभन्दा तल जाँदैन, न आन्दोलनको मर्मभन्दा बाहिर जान्छ।'
उनले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको जनाउँदै सरकार भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न तयार रहेको पनि बताइन्। “राज्यका निकायहरू तीव्र गतिमा छानबिनमा छन्, परिणाम छिट्टै देखिनेछ,” प्रधानमन्त्रीको भनाइ थियो।
तर, छलफलमा सहभागी घाइतेहरूले सरकारमाथि आलोचना गर्दै भ्रष्टाचार र दमनकारी प्रवृत्तिमाथि ठोस कारबाही गर्न माग गरे। उनीहरूले चेतावनी दिए, 'यदि भ्रष्टाचारी र दमनकारीमाथि कारबाही भएन भने हामी फेरि सडकमा उत्रिनेछौं।'
छलफलमा सञ्चारमन्त्री जगदीश खरेलले पुरानै प्रशासनिक संरचनाका कारण काम गर्न कठिनाइ भइरहेको बताए भने गृहमन्त्री ओम प्रकाश अर्यालले आन्दोलनमा भएको दमन र भ्रष्टाचारबारे भइरहेको छानबिनको अवस्थाबारे जानकारी दिए।
तर, घाइतेहरूको टोलीका नेता रुपिन खड्काले भने सरकार आन्दोलनका मागहरूभन्दा बढी चुनावी तयारीमा केन्द्रित भएको आरोप लगाए ।













