आगामी निर्वाचन तयारीबारे सर्वदलीय बैठक बालुवाटारमा जारी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of आगामी निर्वाचन तयारीबारे सर्वदलीय बैठक बालुवाटारमा जारी

काठमाडौ । आगामी निर्वाचन तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बोलाइएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका छन्।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार छलफल पूर्ण रूपमा आगामी निर्वाचनमा केन्द्रित छ। सहभागी दलहरूले निर्वाचनलाई निर्धारित समयमा सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

मन्त्री खरेलले दलहरूबीच निर्वाचनमा जाने विषयमा स्पष्ट सहमति देखिएको बताए। उनका अनुसार सबै दलहरूले निर्वाचन तयारीका क्रममा सुरक्षाको व्यवस्था, निष्पक्ष वातावरण र प्रशासनिक तयारीमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखेका छन्।

नेकपा एमालेका तर्फबाट सहभागी नेताहरूले सरकारले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सक्ने वा नसक्नेबारे शंका व्यक्त गरे पनि, निर्वाचनको विरोध भने नगरेको स्पष्ट गरिएको छ।

बैठकमा पहिलो चरणमा एमाले महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र गुरुङ, नेपाली कांग्रेसका गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, जनमत पार्टीका चन्दन सिंह, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आआफ्नो धारणा प्रस्तुत गरेका थिए।

सरकारतर्फबाट प्रधानमन्त्री कार्कीका साथ अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।

बैठकमा सहभागी नेताहरूले आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ र सुरक्षायुक्त बनाउन राजनीतिक एकता र सरकारी प्रतिबद्धताको आवश्यकता औंल्याएका छन्।