विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिक विपिन जोशीको मंगलबार बिहान राष्ट्रिय सम्मानका साथ कञ्चनपुरको महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ।
बिहान साढे ८ बजे भीमदत्त नगरपालिका–५ स्थित उनको निवासबाट शवयात्रा सुरु भई भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि सशस्त्र प्रहरी बलले विपिनलाई शोक सलामी अर्पण गरेको थियो।
शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहित तीन सदस्यीय इजरायली प्रतिनिधिमण्डल, परिवारजन, स्थानीयवासी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
इजरायल सरकारले सोमबार जोशीको पार्थिव शरीर स-सम्मान नेपाललाई हस्तान्तरण गरेको थियो। इजरायली फरेन्सिक प्रतिवेदनका अनुसार विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि गरिएको छ।
सरकारले विपिनलाई राष्ट्रिय गौरवका युवाको रूपमा स्मरण गर्नुपर्ने भन्दै उनको योगदान र साहसको उच्च मूल्यांकन गरेको छ।













