प्राधिकरणको कडाइः बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटियो

User Image Prime TV News ४ हप्ता अगाडि
Image of प्राधिकरणको कडाइः बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटियो

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले वर्षौंअघिको लोडसेडिङ अवधिमा डेडिकेटेड र ट्रंक लाइनबाट विजुली उपभोग गरेर प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरेको छ।

मंगलबार बिहानै प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको हो। यी उद्योगहरूले तिर्न बाँकी रहेको बक्यौता रकम अरबौंमा पुगेको प्राधिकरणले जनाएको छ।

जगदम्बा स्टिलको १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङको ७५ करोड ३७ लाख, शिवम् सिमेन्टको ७७ करोड ८८ लाख, घोराही सिमेन्टको ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्सको ३२ करोड १० लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापत तिर्नुपर्ने थप महसुल हो।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगहरूलाई रकम बुझाउने व्यवस्था मिलाइएको बताए। उनका अनुसार, जसले किस्ताको पहिलो भुक्तानी गर्छ, उसको लाइन पुनः जडान गरिनेछ।

ऊर्जामन्त्री कुलमान घिसिङको निर्देशनमा यो कारबाही अघि बढाइएको हो। घिसिङले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका बेला नै ४९ उद्योगीबाट करिब ८ अर्ब २६ करोड उठाउने अभियान सुरु गरेका थिए।