प्रधानमन्त्री सुशीला कार्की आज राजनीतिक दलहरूसँग निर्वाचन तयारीबारे छलफलमा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of प्रधानमन्त्री सुशीला कार्की आज राजनीतिक दलहरूसँग निर्वाचन तयारीबारे छलफलमा

काठमाडौ । आगामी आम निर्वाचनको तयारीलाई अघि बढाउने उद्देश्यले प्रधानमन्त्री सुशीला कार्की आज प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै छिन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आह्वान गरिएको हो। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका शीर्ष नेताहरू सहभागी हुने तय भएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो। सो सरकारले फागुन २१ गते आम निर्वाचन गर्ने घोषणा गरिसकेको छ।

अन्तरिम सरकारले पुराना दलहरूप्रति कडा नीति अपनाएको र राजनीतिक वातावरण अस्थिर पार्ने प्रयास गरेको आरोप भइरहेका बेला प्रधानमन्त्री कार्कीले संवादका माध्यमबाट सहमति खोज्ने प्रयास थालेकी हुन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री कार्कीको उपस्थितिमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका थिए। आजको बैठकमा निर्वाचन आचारसंहिता, सुरक्षा तयारी, मतदाता सूची अद्यावधिक र निर्वाचन व्यवस्थापनका अन्य प्राविधिक पक्षबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ।