लक्ष्मीपूजामा अविच्छिन्न विद्युत् आपूर्ति, मन्त्री कुलमान घिसिङको प्रेषण केन्द्र निरीक्षण
Prime TV News एक महिना अगाडि 
काठमाडौ । लक्ष्मीपूजाको दिन देशभर विना अवरोध विद्युत् आपूर्ति भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षमा पुगेर विद्युत् माग र आपूर्तिको स्थिति अवलोकन गरेका छन्।
निरीक्षणका क्रममा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकहरू पनि सहभागी थिए।
टोलीले देशभरको विद्युत् आपूर्ति अवस्था, माग र वितरण सन्तुलनबारे प्रत्यक्ष जानकारी लिएको थियो। विद्युत् प्राधिकरणका अनुसार विगत वर्षहरूमा झैँ यस वर्ष पनि लक्ष्मीपूजाको अवसरमा मुलुकभर अविच्छिन्न विद्युत् आपूर्ति कायम राख्न सफल भएको छ।
यसका लागि प्राधिकरणले सबै वितरण केन्द्र, विद्युत गृह र प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेको थियो। २०७३ साल भदौमा कार्यकारी निर्देशक बनेका कुलमान घिसिङको नेतृत्वमा सोही वर्षको लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाबाट लोडसेडिङ अन्त्य गरिएको थियो।
त्यसपछि प्राधिकरणले निरन्तर सुधार र दक्ष व्यवस्थापनमार्फत देशभर स्थायी रूपमा लोडसेडिङमुक्त विद्युत् आपूर्ति कायम राख्दै आएको छ। प्राधिकरणले यस वर्षको लक्ष्मीपूजालाई ऊर्जा व्यवस्थापन र आपूर्तिको दृष्टिले ऐतिहासिक उपलब्धिको निरन्तरता भएको जनाएको छ।













