विपीन कार्कीलाई प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रिय सम्मान
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इजरायलमा हमासको आक्रमणमा बन्धक बनेका विपीन कार्कीको शव नेपाल आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीले शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएकी छन्।
प्रधानमन्त्री कार्कीसँगै ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायत उच्च पदस्थ अधिकारीहरू पनि उपस्थित थिए र विपीनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
विपीनको शव नेपाली सेनाको जहाजमार्फत आज धनगढी विमानस्थलसम्म लगिने छ र त्यहाँबाट सुदूरपश्चिम प्रहरी कार्यालयले शव कञ्चनपुर पुर्याउनेछ। कञ्चनपुरमा उनका परिवारजन र स्थानीय समुदायसँगै अन्तिम संस्कार गरिने छ।
सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा विपीनसहित २५१ जनालाई बन्धक बनाइएको थियो। केही दिनअघि हमास र इजरायलबीच भएको युद्ध विराम पश्चात् हमासले विपीनको मृत्यु भइसकेको घोषणा गरेको थियो।













