इजरायलमा मारिएका विपिन जोशीको शव स्वदेश ल्याइयो, कञ्चनपुरमा अन्तिम संस्कार गरिने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इजरायलमा हमास आक्रमणको क्रममा मारिएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर सोमबार नेपाल ल्याइएको छ। उनको शव आज दिउँसो केहीबेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
शव ल्याइएपछि विमानस्थलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू तथा सुरक्षानिकायका प्रतिनिधिहरूले सहभागी भई जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
२३ वर्षीय विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए। गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा उनी बन्धक बनिएका थिए। त्यस यता उनको अवस्था अज्ञात रहँदै आएको थियो। यसै महिनाको असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।
इजरायल र हमासबीचको युद्धविराम सम्झौतापछि भएको बन्दी साटासाटको क्रममा हमासले विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो। नेपाल ल्याउनुअघि आइतबार इजरायलको तेल अवीवस्थित स्मारकस्थल खटिभा ८ मा आयोजित विशेष कार्यक्रममा विपिनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।
विपिनको शव जन्मभूमि कञ्चनपुर, भीमदत्त नगरपालिकास्थित घर लगेर अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ।













