गंगा दाहालको राजीनामा : मलाई देखाएर बुबा र पार्टीमाथि प्रहार भयो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी तथा सचिवालय सदस्य गंगा दाहालले पदबाट राजीनामा दिएकी छिन्। उनले आफूलाई माध्यम बनाइ बुबा प्रचण्ड र माओवादी केन्द्रमाथि निरन्तर योजनाबद्ध हमला भएको आरोप लगाउँदै राजीनामा दिएको जनाएकी हुन्।
एक सार्वजनिक विज्ञप्ति जारी गर्दै दाहालले भनिन्, “निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु।”
राजीनामासँगै उनले पार्टीमा आफू सक्रिय कार्यकर्ता रूपमा भने निरन्तर योगदान दिँदै जाने बताएकी छन्। “पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु,” उनले भनिन्।
गंगा दाहाल केही समयदेखि माओवादी केन्द्रको सचिवालयमा रहेर राजनीतिक गतिविधिमा संलग्न थिइन्। तर, पछिल्लो समय उनीमाथि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूमा उठेका विभिन्न टिप्पणी र आरोपहरूले व्यक्तिगत र पारिवारिक गरिमा प्रभावित भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन्।
उनले आफ्नो नाममा आएका केही समाचारहरूलाई भ्रामक र नियोजित भन्दै सञ्चारमाध्यमहरूको ध्यानाकर्षण पनि गराएकी छिन्। “माथि आएका आरोपहरू निराधार छन् र त्यसले मेरो व्यक्तिगत हैसियत मात्रै होइन, समग्र पार्टी नेतृत्वको चरित्रमाथि समेत प्रश्न उठाइएको छ,” उनको भनाइ थियो।













