राष्ट्रिय जेनजी पार्टी नेपालको दल दर्ता निवेदन, ‘क्रस खुकुरी’ चुनाव चिह्न माग

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय जेनजी पार्टी नेपालको दल दर्ता निवेदन, ‘क्रस खुकुरी’ चुनाव चिह्न माग

काठमाडौ । राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। सामाजिक उदारवादलाई आफ्नो राजनीतिक दर्शनको आधार बनाएको पार्टीले चुनाव चिन्हको रूपमा ‘क्रस खुकुरी’ माग गरेको छ।

पार्टी अध्यक्ष हिरा प्रसाद सेतीको नेतृत्वमा आयोगमा दर्ता निवेदन पेश गरिएको हो। पार्टीका अनुसार युवामुखी सोच र समावेशी राजनीतिको परिकल्पनासहित संघीय गणतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यसाथ राष्ट्रिय जेनजी पार्टी अगाडि बढ्न खोजेको बताइएको छ ।

पार्टीले आफ्नो सिद्धान्तमा संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरण संरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई आफ्ना प्रमुख आधारस्तम्भको रूपमा उल्लेख गरेको छ। अध्यक्ष सेतीले भने, "हामी नयाँ पुस्ताको आवाज बन्न चाहन्छौं। हाम्रो पार्टीले युवाको नेतृत्वमा नीति निर्माण गर्ने, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्ने लक्ष्य राखेको छ।"

पार्टीको संघीय कार्यालय काठमाडौंको अनामनगरमा रहेको छ। प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेका छन्। जसमा अध्यक्षमा हिरा प्रसाद सेती, उपाध्यक्षमा मुना बिक,महासचिवमा गोपाल आचार्य, सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान, होम श्रेष्ठ रहेका छन् ।

पार्टीको विधानअनुसार, कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी सम्हाल्न पाउने प्रावधान गरिएको छ।