हङकङ विमानस्थलमा कार्गो विमान दुर्घटना, दुईको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान एक कार्गो विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ।
दुबईबाट आएको टर्कीको बोइङ कार्गो विमान स्थानीय समय अनुसार बिहान करिब ३:५० बजे अवतरणको क्रममा धावनमार्गबाट बाहिरिएको हो। विमानले धावनमार्गमा गस्ती गरिरहेको सुरक्षाकर्मीको गाडीलाई ठक्कर दिँदै समुद्रमा पुर्याएको थियो। गाडीमा सवार दुवै सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
विमानको पुच्छर भाग टुटेको अवस्थामा समुद्रमा अड्किएको छ भने अगाडिको भाग समेत क्षतिग्रस्त भएको छ। घटनापछि अग्निनियन्त्रण, उद्धार टोली, डुङ्गा र अन्य आपतकालीन सेवासहित २०० भन्दा बढी जनशक्ति परिचालित गरिएको छ। विमानमा सवार चार जना चालक दलका सदस्यलाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ।
विमान एमिरेट्स एयरलाइन्सको उडान नम्बरमा उडिरहेको भए पनि यो उडान 'वेट-लिज' प्रणालीअन्तर्गत सञ्चालन गरिएको थियो। हाल विमानस्थलको उत्तर धावनमार्ग बन्द गरिएको छ भने बाँकी दुई धावनमार्ग सञ्चालनमा रहेकाले दैनिक १,००० भन्दा बढी उडानहरूमा कुनै ठूलो प्रभाव नपर्ने बताइएको छ।
हङकङ विमानस्थलमा यसअघि सन् १९९९ मा आएको चिनियाँ एयरलाइन्सको विमान दुर्घटना पछिको यो ठूलो दुर्घटना मानिएको छ।













