चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ : राष्ट्रपति पौडेल

User Image Prime TV News एक महिना अगाडि
Image of चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ : राष्ट्रपति पौडेल

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् । तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ, राष्ट्रपतिले सन्देशमा भनेका छन्। 

राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको उल्लेख गरेका छन्। तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले  मानवीय जीवनमा प्रकाश छरी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस भन्ने कामना उनले गरेका छन्।

भाइटीका लगाउने, म्हपूजा गरी आत्मशुद्धि गर्नेजस्ता चलनले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकार माथिको प्रकाशको विजयजस्ता सन्देशहरू प्रवाह गरेको देखिने राष्ट्रपतिले सन्देशमा स्पष्ट पारेका छन्। रासस