भागेको भनिएका दीपक खड्का जलेको घरबाटै सार्वजनिक, गृहमन्त्रीको दाबी गलत प्रमाणित

User Image Prime TV News एक महिना अगाडि
Image of भागेको भनिएका दीपक खड्का जलेको घरबाटै सार्वजनिक, गृहमन्त्रीको दाबी गलत प्रमाणित

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेका नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै रहेको पुष्टि भएको छ। सोमबार उनले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको आफ्नै निवासबाट सार्वजनिक हुँदै गृहमन्त्रीको दाबी असत्य भएको प्रमाण प्रस्तुत गरे।

गृहमन्त्री अर्यालले अन्तर्वार्तामा खड्का देश छाडेर भागिसकेको र अन्य नेताहरू पनि भाग्न खोज्दै गरेको दाबी गरेका थिए। तर गृहमन्त्रीको यस दाबीको खण्डन भयो जब खड्काले पत्रकार सम्मेलन मार्फत जलेको आफ्नै घरबाट बोल्दै आफू नेपालमै रहेको पुष्टि गरे। उनले सरकारले तथ्यबिना झूटा आरोप लगाएको भन्दै आपत्ति जनाए।

"मैले कहीँ भागेको छैन, यही जलेको घरमै छु। संकटको घडीमा दोष थोपर्नु दु:खद कुरा हो," उनले पत्रकार सम्मेलनमा “सरकारले मलाई वारेन्ट काटेको छ र? विदेश जान रोक लगाएको छ र? म भागे भन्न मिल्छ?” भने । नेता खड्काले आफू कानुनी प्रक्रिया र जिम्मेवारीबाट नडराउने समेत बताएका छन्। खड्काका अनुसार जेनजी आन्दोलनको २४ भदौका दिन उनी घरमै थिए। आन्दोलनकारीहरू घर नजिकै आएर ढोकामा हान्न थालेपछि स्थिति तनावपूर्ण भएको स्मरण गर्दै उनले त्यस दिन अंगरक्षकहरूले ज्यान जोगाएर बाहिर निकालेको बताए । 

खड्काले घरबाट बाहिरिएपछि सुरुमा छिमेकीकोमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा आश्रय लिएको जनाए। त्यसपछि केही दिन तराई क्षेत्रमा बसेर उपचारका लागि भारत गएको उल्लेख गर्दै उनले भने, “बिरामी परेपछि भारत गएँ, डेँगु भएको रहेछ। त्यहाँ केही मन्त्रीहरूसँग भेटघाट पनि भयो।”

पूर्वमन्त्री समेत रहेका खड्काले राजनीतिमा जिम्मेवारीपूर्वक चल्नुपर्ने बताउँदै नागरिक र राजनीतिक दलहरू सबैले संयम अपनाउनु पर्नेमा जोड दिए।