प्रधानमन्त्री कार्कीले सात दलसँग निर्वाचन तयारीबारे संयुक्त छलफल गर्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचन तयारीबारे सात राष्ट्रिय दलका नेताहरूसँग आज संयुक्त छलफल गर्दैछिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले प्रत्येक दलबाट दुई–दुई जना प्रतिनिधिलाई छलफलका लागि बोलाएकी छन्।
प्रधानमन्त्री कार्कीले यसअघि विभिन्न दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्दै आएकी थिइन्। तर, यसपटक उनले सबै दलका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याएर निर्वाचन तयारीका विषयमा सामूहिक रूपमा छलफल गर्ने निर्णय गरेकी हुन्।
संयुक्त छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, समाजवादी दल र जनमत पार्टीका प्रतिनिधिहरू सहभागी हुनेछन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पदमुक्त भई सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको छ।
आजको छलफलबाट निर्वाचन तयारीका विषयमा ठोस सहमति र तालमेलको अपेक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।













