निजी अस्पतालका नर्सहरुको आन्दोलनपछि सरकारको गम्भीर ध्यान, १४ सदस्यीय समिति गठन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशभरका निजी अस्पताल तथा मेडिकल कलेजहरूमा कार्यरत नर्सहरूले न्यूनतम पारिश्रमिक नपाएको भन्दै आन्दोलन चर्काएपछि सरकार गम्भीर बनेको छ। नर्सहरूको माग सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो।
समितिको संयोजकत्व स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठ लाई दिइएको छ। प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सुशीला कार्कीको निर्देशनमा समिति गठन गरिएको हो। स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले आजै बसेको पहिलो बैठकमार्फत आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने वातावरण बनाउन प्रयास भइरहेको जानकारी दिए।
निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्सहरूले सरकारले निर्धारण गरेको न्यूनतम तलब ३४ हजार ७३० कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। उनीहरूले मर्यादित श्रम र उचित सेवा सुविधाको प्रत्याभूति हुनुपर्नेमा जोड दिएका छन्।
समितिमा गृह, अर्थ, श्रम, शिक्षा मन्त्रालयका प्रतिनिधि, नेपाल नर्सिङ परिषद्, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन, नेपाल नर्सिङ एसोसिएसन, आन्दोलनरत नर्सका प्रतिनिधि लगायत स्वास्थ्य मन्त्रालयका विभिन्न विभागका प्रमुखहरू सदस्य छन्।













