जनताको मतकै भरमा आफू सत्तामा फर्किने या नफर्किने निर्णय हुन्छ: ओली
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको उद्देश्य सरकार परिवर्तन नभएको स्पष्ट पारेका छन्। आइतबार राजधानीमा सञ्चार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले आन्दोलनले उठाएका मागहरूलाई राष्ट्रिय हितमा रहेको भन्दै समर्थन व्यक्त गरे।
"यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी हो," ओलीले भने, "जेनजीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राख्नुपर्ने माग गरेका थिए, जुन म स्वयं पनि समर्थन गर्छु।"
उनका अनुसार आन्दोलनले प्रधानमन्त्रीको राजीनामाको माग नै उठाएको नभइ देशको समग्र सुधारका लागि आवाज उठाएको बताए । "उनीहरूको माग परिवर्तन होइन, परिमार्जनको लागि थियो," उनले थपे।
ओलीले आफूविरुद्ध राजनीतिक प्रतिशोधस्वरूप कारबाहीको प्रयास भइरहेको आरोप समेत लगाएका छन्। कतिपय पक्षहरू आफूलाई थुनामा नपर्ला कि भन्ने डरमा रहेको टिप्पणी समेत गरेका छन् । “तिनलाई अहिले केपी ओली थुनामा नपर्ला कि भन्ने डर छ। समाउन नसकिएला कि भन्ने डर छ। धेरैलाई डर छ त्यो,” ओलीले भने।
उनले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमलाई लिएर अनुसन्धान अघि बढाइरहेका निकायमाथि पनि परोक्ष रूपमा प्रश्न उठाए। ओलीका अनुसार, आफूलाई कारबाहीको माग गर्नेहरूलाई नै छानबिनको जिम्मेवारी दिइनुले निष्पक्षता माथि शंका उत्पन्न गराएको बताए । साथै ओलीले जनताको मतकै भरमा आफू सत्तामा फर्किने या नफर्किने निर्णय हुने पनि बताए।













