हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ दर्ता गरे, नीति र नेतृत्व अझै गोप्य
Prime TV News एक महिना अगाडि 
काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ को औपचारिक सनाखत गरेका छन्। आइतबार उनी निर्वाचन आयोग पुगेर पार्टी दर्ताको प्रक्रिया पूरा गरेका हुन्।
साम्पाङले यसअघि असोज १२ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएका थिए। निवेदनपछि भएको प्रक्रिया अन्तर्गत उनले अब पार्टी दर्ता सुनिश्चित गर्न सनाखत गरेका हुन्। यद्यपि, पार्टीको नीति, कार्यक्रम तथा नेतृत्व संरचना सार्वजनिक गरिएको छैन। पार्टीले के कस्ता एजेन्डा अगाडि बढाउनेछ भन्ने विषयमा समेत साम्पाङले अहिलेसम्म कुनै स्पष्ट धारणा दिएका छैनन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा उदाएका साम्पाङले ‘लौरो’ चुनाव चिन्ह लिएर धरानको मेयरमा निर्वाचित भएका थिए। निर्वाचित भएपछि उनले पानीको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्दै आएका थिए ।
साम्पाङ केही समयअघि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा प्रस्तावित अन्तरिम सरकारमा सहभागी हुने प्रयासमा थिए । तर त्यो पहल असफल भएपछि उनी धरान फर्किएका थिए। त्यसयता उनले काठमाडौंका मेयर बालेन शाह प्रति सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्दै आएका छन्।













