निर्वाचन तयारी तीव्र: शान्ति सुरक्षाका लागि संयुक्त पेट्रोलिङ सुरु हुने

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन तयारी तीव्र: शान्ति सुरक्षाका लागि संयुक्त पेट्रोलिङ सुरु हुने

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन सुरक्षा तयारी तीव्र पारिएको बताएका छन्। निर्वाचनको वातावरण निर्माण गर्न संयुक्त सुरक्षाकर्मीहरूको पेट्रोलिङ सुरु गरिने जानकारी गृहमन्त्री अर्यालले दिएका छन्।

आइतबार गृहमन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले भने, "निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षाको प्रत्याभूत गराउन संयुक्त पेट्रोलिङ गर्ने, सुरक्षा फौजको निरन्तर गस्ती चलाइनेछ। त्यही क्रममा विद्रोहका समयमा हराएका हतियारहरूको खोजी तथा रिकभरी अभियान पनि अघि बढाइन्छ।"

उनले हालैका वर्षहरूमा जनआन्दोलन र जेलब्रेकजस्ता घटनामा हराएका हतियारहरू आपराधिक गिरोहको हातमा पर्न सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै ती हतियारहरू नियन्त्रणमा लिन आवश्यक पहल भइरहेको बताए।

गृहमन्त्री अर्यालले केही राजनीतिक समूहले आन्दोलनमा संलग्न भएका व्यक्तिहरूलाई आंशिक संरक्षण दिने गरेको देखिएकाले ती दलहरूलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे। निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न भागमा सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेना समन्वयमा रहेको संयुक्त सुरक्षाव्यवस्थामार्फत सबै जिल्लामा निगरानी तीव्र पारिने गृह मन्त्रालयले जनाएको छ।

निर्वाचन आयोगले पनि सबै सरोकारवाला निकायसँग समन्वय गरेर निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्ने तयारी अघि बढाएको छ।