विप्लव नेतृत्वको नेकपाद्वारा १७ बुँदे निर्णय सार्वजनिक, ५ सय र हजार रुपैयाँका नोट खारेजीको माग

User Image Prime TV News एक महिना अगाडि
Image of विप्लव नेतृत्वको नेकपाद्वारा १७ बुँदे निर्णय सार्वजनिक, ५ सय र हजार रुपैयाँका नोट खारेजीको माग

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वले हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट पारित १७ बुँदे निर्णय आइतबार सार्वजनिक गरेको छ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले निर्णयहरू सार्वजनिक गर्दै राजनीतिक, आर्थिक तथा सांगठनिक विषयमा पार्टीको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका हुन्।

असोज २६ देखि ३० गतेसम्म बसेको बैठकले भ्रष्टाचार, कालोबजारी, तस्करी र माफियाविरुद्ध कडा कदम चाल्न ५ सय र १ हजार दरका नोट तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ। महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “देशको अर्थतन्त्रमा व्यापक असर पारिरहेको कालोधन नियन्त्रणका लागि ठूला दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्न आवश्यक छ।”

बैठकले कृषि उत्पादनसँग जोडिएको पार्टीको पुरानो नीति सुदृढ गर्दै यस वर्षको वर्षे बाली उत्पादन सन्तोषजनक भएको र अब हिउँदे बालीलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको छ। नेकपाले ‘एकीकृत स्वामित्व’ अवधारणाअन्तर्गत एक कृषि उद्योग सञ्चालन गर्ने बताएको छ।

पार्टीले हालैका दिनमा देखिएको ‘जेनजी विद्रोह’लाई सफल आन्दोलनका रूपमा व्याख्या गर्दै, त्यसले स्पष्ट एजेण्डा र नेतृत्व नपाएको निष्कर्ष निकालेको छ। साथै, यस्तो असंगठित असन्तुष्टिलाई दिशा दिन कम्युनिस्ट शक्तिहरूको एकता आवश्यक भएको उल्लेख छ।

बैठकले वाम आन्दोलनलाई पुनः एकीकृत गर्दै नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता औंल्याएको छ। यसक्रममा नेकपाले माओवादी घटक, समाजवादी मोर्चामा आबद्ध दलहरू लगायत सबै वामपन्थी शक्तिसँग संवाद बढाउने बताएको छ।