वायु सेवा निगम भित्र कालाखेतीको कर्तुतको फेहरिस्त थपिदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल वायु सेवा निगमलाई दुहुनो गाई बनाउने कर्मचारीको कुनै कमी छैन । अनेकन काण्डमा परेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालत धाइरहेका नायव महाप्रबन्धक जनकराज कालाखेती महाप्रबन्धक बन्न मरिहत्ते गरेर लागिपरेका छन् ।
नेपाल वायु सेवा निगमका नायब महाप्रबन्धक कालाखेती स्वार्थ बाझिने गरी अन्य संस्थामा पनि आबद्ध भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको हो । गत भदौ १ गते नेपाल वायु सेवा निगमलाई पत्र लेख्दै आयोगले कालाखेतीका बारेमा विस्तृत विवरण माग गरेको थियो ।
वीबी एयरवेजमा पनि कालाखेतीको आवद्धता पुष्टि हुने गरी अख्तियारले प्रमाण फेला पारेको छ भने उनी चार्टर एकेडेमिक इन्टरनेशलन, लक्ष्मी ग्यास उद्योग पोखरा र काठमाडौं सुन्धारास्थित ५२ नम्बरको शेयर ब्रोकरसँग आवद्ध रहेको खुलेको छ ।
सरकारी कार्यालयको जिम्मेवार पदमा रहेका व्यक्ति समान प्रकृतिको संस्थामा काम गर्दा स्वार्थ बाझिने हुँदा संलग्न हुन नपाइने कानूनी प्रावधान छ । यस्तै अन्य संस्थामा शेयर लिन स्वीकृति प्रदान भए, नभएकोबारे बारे पनि अख्यितारले निगमलाई पत्र लेखेर जानकारी माग गरेको छ ।
यस विषयमा निगमले पनि आवश्यक कागजात अख्तियारलाई उपलब्ध गराएको छ । निगमको वाइडवडी विमान खरिद प्रक्रियामा पनि संंस्थालाई हानी हुने गरी आर्थिक अनियमितता गरेको अभियोग लागेका कालाखेतीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर समेत दायर गरेको थियो
विशेष अदालतबाट कालाखेतीले सफाइ पाएपछि उक्त मुद्दा पुनरावलोकन गर्न आयोग सर्वोच्च अदालत पुगेको र अहिले सवोच्चमा उक्त मुद्दा विचाराधीन अवस्थामा छ । अहिले फेरि महाप्रबन्धक पदमा फर्कन लागिपरेका कालाखेतीको कतुर्त जगजाहेर हुँदा हुँदै पनि शक्ति केन्द्र धाउन उनी सक्रिय बनेका छन् ।













