सप्तरीमा गोली हानी पुजारीको हत्या
Prime TV News एक महिना अगाडि 
सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनस्थित रजकपट्टीको कबीर बाबा मन्दिरमा बसोबास गर्दै आएका ७३ वर्षीय पुजारी रामदुलार साहको अज्ञात समूहद्वारा गोली हानी हत्या गरिएको छ।
साह आज बिहान करिब २ बजे मन्दिर नजिकैको सडकमा निकालेर गोली प्रहार गरिएका थिए। गोली पिठ्युँमा लागेको जनाइएको छ। स्थानीय बासिन्दाले गोलीको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
शव परीक्षणका लागि पुजारीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। हाल प्रहरीको टोली घटनास्थलमा अनुसन्धानमा खटिएको छ भने सीमावर्ती क्षेत्रका नाका र शङ्कास्पद गतिविधिमाथि निगरानी कडाइ गरिएको छ।
पुजारी एक्लै मन्दिर परिसरमा कुटी बनाई बस्दै आएका थिए। घटनाले स्थानीयमा त्रास फैलिएको छ र शान्त क्षेत्रको सुरक्षा अवस्थाप्रति गम्भीर प्रश्न उठेको छ। प्रहरी प्रशासनले हत्याराको पहिचान र पक्राउको लागि आवश्यक प्रक्रिया तीव्र बनाएको जनाएको छ।













