प्रदीप पौडेलको प्रस्ताव : कांग्रेसमा अब पुस्तान्तरण र रूपान्तरणको समय आएको छ

User Image Prime TV News एक महिना अगाडि
Image of प्रदीप पौडेलको प्रस्ताव : कांग्रेसमा अब पुस्तान्तरण र रूपान्तरणको समय आएको छ

काठमाडौ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीभित्र पुस्तान्तरण र संरचनात्मक रूपान्तरणको माग गर्दै ५१ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेका छन्।

उनले जारी केन्द्रीय समिति बैठकमा आफ्नो प्रस्तावमार्फत पुरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्व सर्ने स्वाभाविक प्रक्रियालाई ढिलाइ गर्न नहुने चेतावनी दिएका हुन्।

पौडेलले प्रस्तावमा भनेका छन्, 'नेतृत्व हस्तान्तरण प्राकृतिक न्यायको सिद्धान्तभित्र पर्छ। योगदानको कदर गर्दै सबैलाई सम्मानजनक भूमिका दिँदै अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन ढिलो गर्नु पार्टीका लागि घातक बन्न सक्छ।'

उनका अनुसार पुरानो पुस्ताले अस्वाभाविक रूपमा लामो समयसम्म नेतृत्व सम्हालिरहे समग्र स्थानान्तरण र विकास प्रक्रिया नै अवरुद्ध हुने खतरा बढ्नेछ।

उनले भनेका छन्, 'हामी विभाजित भयौं, एकले अर्कालाई कमजोर बनायौं, र मुलुकको आवश्यकता बिर्सियौं भने कांग्रेसभित्र क्षयीकरण सुरु हुनेछ, जसलाई भविष्यमा सुधार्न असम्भव प्रायः हुनेछ।'

प्रस्तावमा उनले पार्टी र राज्यका सबै तहका पदहरूमा दोहोरिने सीमाबारे कानुनी व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएका छन्। पौडेलका अनुसार, 'वडा सदस्यदेखि प्रधानमन्त्री तथा राष्ट्रपतिसम्म निश्चित समयसम्म मात्रै पदमा रहने व्यवस्था हुनुपर्छ, जसले पछाडि रहेका युवामा नेतृत्वमा पुग्ने प्रेरणा जगाउँछ।'

उनले हालको राजनीतिक संकट समाधानको पहिलो उपायका रूपमा नेतृत्व परिवर्तनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन्। 'अहिलेको विशेष परिस्थितिको सम्बोधन पनि विशेष ढङ्गबाट हुनुपर्छ। यसलाई नियमित प्रक्रियाको रूपमा मात्र लिनु गल्ती हुनेछ,' उनले भनेका छन्।

जेनजी आन्दोलनबारे पनि पौडेलले आफ्नो धारणा राख्दै भनेका छन्, 'जेनजी विद्रोहले देशमा जनउत्तरदायी प्रजातान्त्रिक शक्तिको खोजी गरेको छ। अब कांग्रेसले यही जनभावनालाई आत्मसात् गर्दै नयाँ पुस्ताको नेतृत्वमा देशलाई अघि बढाउनुपर्छ।'