मिराज ढुंगानाले नयाँ दल गठन गर्ने घोषणा, तत्काल निर्वाचनमा नजाने निर्णय
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले शनिबार नयाँ राजनीतिक दल गठन गरेको घोषणा गरेका छन्। काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले देशमा पुराना दलहरूको असफलता र युवाहरूको निराशाले नयाँ दलको आवश्यकता सिर्जना गरेको बताए।
ढुंगानाले आफ्नो पार्टीको मूल नीति प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा आधारित हुने उल्लेख गर्दै हालको परिस्थितिमा निर्वाचनमा भाग नलिने निर्णय पनि सार्वजनिक गरे। उनका अनुसार नयाँ दलको प्राथमिकता देशमा संरचनागत सुधार, पारदर्शिता र युवा नेतृत्व स्थापना हुनेछ।
'हामी अहिले सत्ता होइन, दिशाको खोजीमा छौं,' उनले भने, 'हाम्रो लक्ष्य दीर्घकालीन राजनीतिक रूपान्तरण हो, जसका लागि संगठन सुदृढ पार्न समय आवश्यक छ।'
कार्यक्रममा ढुंगानासँगै जेनजी आन्दोलनमा सक्रिय केही अभियन्ता पनि उपस्थित थिए। उनीहरूले पुरानो राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै नयाँ दलको समर्थन गर्ने घोषणा गरे।













