युक्रेन युद्धबारे ट्रम्प र जेलेन्स्कीबीच मतभेद, वार्ता असहज र तनावपूर्ण

User Image Prime TV News एक महिना अगाडि
Image of युक्रेन युद्धबारे ट्रम्प र जेलेन्स्कीबीच मतभेद, वार्ता असहज र तनावपूर्ण

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भएको तेस्रो बैठकमा युक्रेन युद्धको भविष्यबारे गम्भीर मतभेद देखिएको छ।

सीएनएनलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले जनाएअनुसार दुवै नेताबीचको बैठक लामो, स्पष्ट र कतिपय क्षणमातनावपूर्ण र असहजरहेको थियो।

उच्च तहका सल्लाहकारहरूको उपस्थितिमा भएको उक्त छलफलमा युद्धको दिशा, सहयोग र शान्ति प्रक्रियाबारे तीव्र विचारविमर्श भएको बताइएको छ।

बैठकमा राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भनेका छन् कि अहिलेको अवस्थामा अमेरिका युक्रेनलाई रूसभित्र टाढासम्म पुग्ने लामो दूरीका मिसाइल उपलब्ध गराउने छैन। उनका अनुसार युक्रेन युद्धलाई दीर्घकालीन बनाउने र तनाव थप्ने दिशामा जान खोजिरहेको देखिन्छ, जसले कठोर जाडोयाममा थप मानवीय क्षति निम्त्याउन सक्छ।

बैठक सकिएलगत्तै ट्रम्पले तत्काल युद्धविरामको प्रस्ताव राख्दै हालका युद्धरेखाहरू कायम राख्ने र रक्तपात अन्त्य गर्न आग्रह गरेका छन्। उनले आफ्ना सहयोगीहरूसँग भनेका छन्, 'अबको अवस्था यथार्थ बुझेर अघि बढ्नुपर्ने समय आएको छ। धेरै विनाश भइसकेको छ, धेरै ज्यान गइसकेका छन्।'

ट्रम्पका एक अधिकारीका अनुसार, दुवै पक्षले सम्झौताको बाटो अपनाउनुपर्ने राष्ट्रपति ट्रम्पको धारणा हो, किनकि युद्ध जारी रहँदा अवस्था झनै बिग्रँदै जानेछ।

उता, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत बैठकलाई 'सिधा र गम्भीर संवाद' को रूपमा वर्णन गरेका छन्। उनले भनेका छन्, 'यस वार्ताले यो युद्धको अन्त्य नजिक ल्याउने सम्भावना देखाएको छ।'

यो भेट वार्तालाई विश्लेषकहरूले अमेरिकायुक्रेन सम्बन्धमा निर्णायक मोडको रूपमा हेरिरहेका छन्, जसले आगामी महिनाहरूमा युक्रेन युद्धको दिशा परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ।