दीपावलीमा आतिसबाजी र पटाका निषेध, देउसी–भैलो राति ९ बजेसम्म मात्र
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दीपावली पर्वको अवसरमा सार्वजनिक सुरक्षा र कानून पालनाका लागि कडा निर्देशन जारी गरेको छ।
प्रशासनले आतिसबाजी, पटाका, भुइँचम्पा तथा अन्य विस्फोटक पदार्थको खरिद बिक्री, ढुवानी, भण्डारण र प्रयोग पूर्ण रूपमा निषेध गरिएको जानकारी दिएको छ।
कार्यालयद्वारा जारी सूचनामा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ। साथै, देउसी–भैलो मर्यादित, अनुशासित र व्यवस्थित तरिकाले राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइने उल्लेख छ।
सार्वजनिक सडक, पदमार्ग वा आम आवागमनमा बाधा पुग्ने स्थानमा देउसी भैलो खेल्न वा पूजा मण्डप बनाउन रोक लगाइएको छ।
प्रशासनले चाडपर्वका बेला सम्पत्ति चोरी र आपराधिक गतिविधि बढ्ने सम्भावना रहेको भन्दै घर खाली नगर्न, घर छोड्नुपरेमा छिमेकीलाई जानकारी गराउन र शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।
त्यस्तै, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, म्याद नाघेका सामान बिक्री गर्ने तथा उपभोक्ता हितविपरीतका कार्य नगर्न चेतावनी दिइएको छ।
साथै, चिठ्ठा, जुवातास, अनलाइन सपिङका नाममा हुने ठगी र अवैध कारोबारबाट सचेत रहन सर्वसाधारणलाई अनुरोध गर्दै प्रशासनले सुरक्षित, अनुशासित र उल्लासमय ढंगले दीपावली मनाउन आग्रह गरेको छ।













